इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ । आज बिहान साढे ९ बजे सुरू भएको आगलागी झन्डै ६ घण्टापछि नियन्त्रणमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार आगो निभाउन विभिन्न पालिकाका १२ वटा दमकल तथा झन्डै तीन सय जनाको सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको थियो । भवन ठूलो भएकाले आगो निभाउन बढी समय लागेको उनले बताए ।
के कारणले आगो लागेको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । आगलागीमा फसेकाको उद्धारका लागि गृह मन्त्रालयले काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । आगलागी भएको भवनबाट ११ जनाको उद्धार भएको थियो ।
प्रहरी नायव उपरीक्षक खतिवडाका अनुसार उद्धार गरिएकाहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।







