झापाको मेचीनगर-१२ स्थित माधव संस्कृत विद्याश्रममा लगाइएको सप्ताह पुराणबाट संस्थाले २१ लाख बचत गर्न सफल भएको छ ।
गत फागुन ७ गतेदेखि १४ गतेसम्म आयोजना गरिएको श्रीमदभागवत भागवत ज्ञान महायज्ञको आय व्यय सार्वजनिक गर्दै विद्याश्रमका कोषाध्यक्ष टेकप्रसाद भारतीले ३० लाख ४५ हजार ४५८ आम्दानी भएको र ९ लाख ८४५ खर्च भएको जानकारी दिए । उनका अनुसार पुराणबाट संस्थालाई २१ लाख ४४ हजार ६१३ बचत भएको छ ।
पुराणबाट प्राप्त बचत रकम मध्ये ११ लाख संस्थाको अक्षय कोषमा राखिने विद्याश्रमका अध्यक्ष तिलकप्रसाद गिरीले बताए । अक्षय कोषमा राखेर बाँकी रहेको रकमले विद्याश्रमको केही भौतिक संरचना निर्माणमा खर्च गरिने पनि अध्यक्ष गिरीले बताएका छन् ।
संस्थाका कार्यसमिति सदस्य उषा मिश्र, सल्लाहाकार प्रेमराज घिमिरे, भागवत वाचक पण्डित हरिकृष्ण भण्डारी, आचार्य पं लक्ष्मीप्रसाद मिश्र, विचार चौतारी युवा क्लबका अध्यक्ष नेत्रप्रसाद मिश्र लगायतको सहभागिता रहेको आयव्यय सार्वजनिक कार्यक्रमको सञ्चालन प्राचार्य पं पुण्यप्रसाद रिजालले गरेका थिए ।







