बिर्तामोड स्थित कृषिथोक बजारमा बिक्रीका लागि ल्याईएको दुई क्विन्टल ब्रोकाउली र काउलीमा विषादीको मात्रा उच्च भेटिएपछि नष्ट गरिएको छ ।
विषादी प्रयोगशालाको शुक्रबारको रिपोर्ट अनुसार बिर्तामोड नगरपालिका वडा नं.९ स्थित मियावाडीमा भारतिय नागरिक पंकजकुमार रायले उत्पादन गरेको ब्रोकाउली र काउलीमा अत्याधिक विषादी भेटिएको हो । रिपोर्ट अनुसार ब्रोकाउलीमा ९५.१४ प्रतिशत र काउलीमा ९६.५२ प्रतिशत विषादी फेला परेको थियो ।
काउली र ब्रोकाउलीमा विषादीको मात्रा उच्च फेला परेपछि बिर्तामोड नगरपालिकाको कृषि शाखा प्रमुख राजेन्द्र कडरिया, वडा नं.३ का वडा सदस्य हरि बाँस्कोटा, कृषि प्राविधिक, नगर प्रहरीसहितको टोलीले तरकारी बारीको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा कृषि शाखा प्रमुख कडरियाले अब अर्को पटक चेकजाँच नगरेसम्म ब्रोकाउली, काउली टिपेर बिक्री बितरण नगर्न निर्देशन दिएका छन् । उनले दोश्रो पटकको चेकजाँचमा पनि विषादी देखिए बारीमै नष्ट गर्ने जानकारी दिए । तरकारीमा ३५ प्रतिशत भन्दा बढी बिषादी भेटिए खान अयोग्य मानिन्छ ।







