झापाको मेचीनगरमा सञ्चालित रेडियो साथीका स्टेसन मेनेजर सुरज प्रधान सवारी दुर्घटनामा परेर घाइते भएका छन् ।
समाजवादी प्रेस संगठन झापाका सचिव समेत रहेका प्रधान शनिबार साँझ मेचीनगरको तेलपानीमा मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका हुन् ।
उनलाई उपचारका लागि तत्कालै बिर्तामोडस्थित मनमोहन अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारसम्भव नभएपछि थप उपचारका लागि बिर्तासिटी अस्पतालमा लगेर सघन कक्षमा राखेर उपचार भइरहेको छ ।
इलामको रोङ गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको रिपोर्टिङ गरेर फर्किने क्रममा कुकुरलाई जोगाउने क्रममा प्रधान दुर्घटनामा परेका थिए । उनको जिब्रो र टाउको जटिल अप्रेसन गर्नुपर्ने भएकाले रकम धेरै नै लाग्ने अस्पताल प्रशासनले जनाएको छ ।
यसैबीच उनको उपचारमा पैसाको अभाव हुन नदिन प्रेस क्लब मेचीनगरले आर्थिक संकलन अभियान सुरुको गरेको प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए ।
त्यस्तै प्रधानको उपचारका लागि रकम अभाव हुन नदिन झापाका अन्य विभिन्न प्रेस संघसंगठनहरु सक्रिय रुपमा लागि परेका छन् ।







