झापाको बुद्धशान्तिमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
आज दिउँसो ३ बजे बुद्धशान्ति गाउँपालिका वडा नं.२ खतिवडा चौकस्थित जयपुर-शनिश्चरे भित्री सडकखण्डमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प.७४८२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बस्ने अन्दाजी ७५ वर्षीया इन्द्रमाया कार्कीको मृत्यु भएको हो । घाइते कार्कीलाई बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल चालक इलामको सूर्योदय नगरपालिका वडा नं.१० बस्ने २१ वर्षीय भुवन न्यौपानेलाई इलाका प्रहरी कार्यालय धुलावारीले नियन्त्रणमा लिएको छ । सोही दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार बुद्धशान्ति गाउँपालिका वडा नं.७ बस्ने २४ वर्षीय रविन गड्तौला घाइते भएका छन् ।
उनको खुट्टा र दुवै हातमा चोट लागेर सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय बुधबारेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।







