रिडर्स झापाले पाँचौं संस्करणको ‘कला साहित्य उत्सव’ आयोजना गर्ने भएको छ ।
रिडर्स झापाले यही फागुन १४, १५ र १६ गते काँकरभिट्टामा कार्यक्रम गर्ने शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
‘कला साहित्य उत्सव’मा भारतका प्रसिद्ध पर्यावरण अभियन्ता सोनाम वाङचुक लगायतका श्रष्टाहरुको सहभागिता रहने भएको छ ।
उत्सवमा भारतको कोलकाताका अर्का अभियन्ता डा.देवल देव र नेपालका वैज्ञानिक डा.उत्तमबाबु श्रेष्ठ लगायतको सहभागिता रहने रिडर्स झापाका अध्यक्ष शैलेश दाहालले बताए । उत्सवमा १२ वटा विषयमा छलफल सत्र रहने छ । ३० जना विज्ञले सम्भाषण दिने उत्सव आयोजक कमिटीले जनाएको छ । उत्सवमा १६ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
उत्सवलाई देही आर्ट, मेची चरा तथा वन्यजन्तु संरक्षण समाज र परिवर्तन थिएटरले सहकार्य गर्ने छन् । उत्सव अवसरमा चरा अवलोकन, भित्तेचित्र लेखन, फोटो प्रदर्शनी र नाटक मञ्चन समेत गरिने छ ।
नेपाली वैज्ञानिक डा.उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ शीर्षकमा बोल्ने र भारतीय पर्यावरण अभियन्ता सोनाम वाङचुकले हिमालय क्षेत्रको पर्यावरण संरक्षणमा भइरहेको आन्दोलन र त्यसका उपलब्धिका बारेमा चर्चा गर्ने आयोजक कमिटीका संयोजक सागर शिवाकोटीले जानकारी दिए ।







