झापाको दमक-२ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय एक जना विद्यार्थीलाई एक्सेल डेभलपमेन्ट बैंकले न्यानो कपडा वितरण गरेको छ ।
झापाली समाज युएईको सहकार्यमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
झापाली समाज युएईले समाजसेवामा गरेको पवित्र कार्यलाई सम्मान गर्दै यसमा एक्सेल डेभलपमेन्ट बैकले विगतदेखि नै सहयोग गर्दै आइरहेको छ । समाजले गर्ने हरेक सामाजिक कार्यमा बैंकले हिजोबाट नै सहयोग गर्दै आएको र आगामी दिनमा समेत समाजसेवाको पवित्र कार्यमा सहयोग गर्ने बैंकका सिइओ डा.इन्द्रकुमार कट्टेलले बताए ।
पवित्र कार्यमा सहयोग गर्ने बैंकलगायत सम्पूर्णप्रति समाजका नेपाल सम्पर्क समितिका अध्यक्ष राजेन्द्रकुमार दाहालले धन्यवाद दिएका छन् ।
उक्त कार्यक्रममा समाजले हालसम्म गरेका सम्पूर्ण गतिविधिलाई समेटेर तयार पारिएको वृत्तचित्रको संक्षिप्त भाग प्रस्तुत गरिएको थियो । वृत्तचित्रको पुरा भाग समय मिलाएर केही दिनपछि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरी सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक प्रेम पाण्डेले समाजका सदस्यलाई धन्यवाद दिएका छन् ।







