निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा रमेश अधिकारी निर्वाचित भएका छन् ।
मंगलबार भएको मतदानमा १६३ मत ल्याएर दमकका अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् भने उनका प्रतिष्पर्धी भद्रपुरका इन्जिनियर प्रकाशकुमार सिंहले १४२ मत हासिल गरेका छन् ।
त्यस्तै सहकोषाध्यक्षमा सुरेन्द्र धिमाल निर्वाचित भएका छन् । सहकोषाध्यक्ष पदका लागि तीन जनाबीच कडा प्रतिष्पर्धा भएको थियो । त्यसमध्ये धिमाल १०४ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धीहरु एंगल गुरुङले ९९ र सुरेश भट्टराईले ९८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्यहरुमा प्रवीण कट्वाल २४६, मनोज उप्रेती २२४, इन्जिनियर विवेक जवेगू २२५, गंगाप्रसाद गौतम २२४, दिनेश मैनाली २२२, ज्ञानबहादुर तामाङ २००, इन्जिनियर डालिम खड्का १९९, आशिष बान्तवा १९५, उद्धव कुँवर १९३ र भरत भट्टराई १९१ मत ल्याई निर्वाचित भएका छन् । १० जना सदस्यका लागि १५ जनाले उम्मेद्वारी दिएका थिए ।
अध्यक्ष, सहकोषाध्यक्ष र सदस्यबाहेक बाँकी पदहरुमा यसअघि नै सर्वसम्मत भइसकेको थियो । संघको प्रथम उपाध्यक्षमा केदार गिरी, द्वितीय उपाध्यक्षमा राजकुमार राई, तृतीय उपाध्यक्षमा नयन बराल, महासचिवमा पुष्पराज निरौला, सचिवमा लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका थिए ।
निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेकोमा ३०५ जनाले मतदानमा भाग लिएको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए ।







