काठमाडौं । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही भन्दै अध्यक्षबाट हटाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको निर्णयपछि नेकपा विभाजन निश्चित भएको छ ।
ओली र प्रचण्ड–माधव नेपाल दुवै पक्षले आफूहरु नै नेकपाको मूलधार भएको दावी शुरु गरेका छन् । ओलीले सोमबार नै नेकपाको केन्द्रीय समिति विस्तार गरी ५५६ जना सदस्य थप गरेका छन् ।
नेकपामा ओली पक्षका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार नेकपाको प्रथम अध्यक्षको हैसियतमा ओलीले केन्द्रीय समिति विस्तार गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओली पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठकपछि प्रवक्ता ज्ञवालीले यसअघि २०७५ जेठ ३ गते जस्तै सोमबार केन्द्रीय समितिमा सदस्य थपिएको बताए ।
यसअघि पनि मनोनित गरेर समिति बनाइएको र यसपटक पनि सोही प्रक्रियाबाट मनोनित गरिएको ज्ञवालीले बताएका छन् ।
थपिएका केन्द्रीय सदस्यको बहुमत देखाएर ओली पक्षले चुनाव चिन्ह सूर्य आफ्नो पक्षमा पार्ने कोशिस गरेको छ । मौजुदा केन्द्रीय कमिटीका बहुमत सदस्य प्रचण्ड–नेपालसँग भएपनि ओली पक्षले उनीहरुको बैठकलाई वैधानिकता दिन मानेको छैन ।
नेकपा विधानमा अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । महासचिव बिनाको बैठक भएकाले प्रचण्ड–नेपालको भेलाले गरेको निर्णयको वैधानिकता नहुने ओली पक्षको विश्लेषण छ । यही आधारमा सूर्य चिन्ह आफूहरुको पक्षमा आउने सो समूहका एक केन्द्रीय सदस्यले दावी गरे ।







