प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा बनेको १८ तले भ्यू टावरको उद्घाटन गरेका छन् ।
दमक नगरपालिका-३ मा बनेको भ्यू टावरको ओलीले आज उद्घाटन गरेका हुन् ।
आलोचना बढ्दै गएपछि भ्यू टावरलाई अहिले व्यवसायिक कम्प्लेक्स भनेर नामाकरण गरिएको छ । भ्यू टावरको लगानी एक अर्ब ६३ करोड ५४ लाख रुपैयाँभन्दा धेरै रहेको छ । यो टावर चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।
भ्यू टावरको २०७६ को असार २७ गते प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए । १८ तले भवन उपयोगविहीन छ, यो भवनलाई के प्रयोजनमा लगाउने भन्ने पनि अझै टुङ्गो लाग्न सकेको छैन ।
भूकम्प, चट्याङ र आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरेर निर्माण गरिएको यो टावर सबै जोखिमका दृष्टिले सुरक्षित र अत्याधुनिक रहेको रहेको निर्माताको दाबी छ । भ्यू टावरको भुइँतलामा ४० वटा चार पाङ्ग्रे र दुई सय वटा दुई पाङ्ग्रे गाडी अट्ने पार्किङ रहेको छ ।







