सप्तक संगीत विद्यालयले ३४औँ नारायण गोपाल स्मृती तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
झापाको बिर्तामोड-५ मा अवस्थित विद्यालयले शनिबार साँझ कनकाई स्कुलको हलमा कार्यक्रम सम्पन्न गरेको हो ।
स्वर्गीय स्वर सम्राट नारायण गोपालप्रति श्रद्धासुमन अर्पण गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष तथा प्रशिक्षक सरोज वत्सले जानकारी दिए ।
उक्त कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नारायण गोपालका विभिन्न गीत प्रस्तुत गरेका थिए भने भारत सिक्किम तथा दार्जिलिङबाट आएका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।
सोही अवसरमा पत्रकार तथा साहित्यकार केशव आचार्य, संगीतकार विकास चौधरी, चलचित्र निर्माता तथा निर्देशक केवल तामाङ र युवा गायक अपन श्रेष्ठलाई सम्मान गरिएको थियो ।
शिक्षक अभिभावक संघका सदस्य गीता तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कनकाई क्याम्पस प्रमुख सुरेश चापागाईं रहेका थिए ।
इलाम झापा मैत्री समाज, ट्रष्ट टीम नेपाल, गोल्डेन नेपाल र जयपुर बोर्डिङ स्कुलको सह-आयोजनामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष सत्यनारायण तायल, गायक हस्त परियार, साहित्यीक व्यक्तित्व देविभक्त श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रमको सञ्चालन पुरुषोत्तम ढुङ्गेलले गरेका थिए ।







