बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको हो ।
प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । सीआईबी प्रमुख एआईजी दीपक थापाले प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको बताए ।
सामाजिक सञ्जालमा कम्बोडियामा ओलीको लगानी रहेको भन्दै उनले सार्वजनिक गरेको कागजातमा प्रधानमन्त्री ओलीको नामसहित र नक्कली हस्ताक्षर रहेको थियो । प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ । प्रसाईंले कम्बोडियामा ओलीको लगानी रहेको बिषयमा पत्रकार सम्मेलन गरेलगत्तै उनलाई भक्तपुर निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
यसअघि काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसूरमा अनुसन्धान गर्नका लागि पक्राउ अनुमति दिएको थियो । लगत्तै पक्राउ परेका प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
साइबरसम्बन्धी कसुरमा असोज १५ गते जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई धरौटीमा छोड्न आदेश दिएको थियो । एक लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका थिए । ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन: नियन्त्रणमा लिएको हो ।







