पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी-भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।
भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।
भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर-१५ निवासी हिरण्य न्यौपानेले जानकारी दिए ।
धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारीसाधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्याउँदै आएका थिए ।
ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थी यातायात अवरुद्ध हुँदा सकसमा परेका छन् ।
भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किने गरेका छन् । आफ्ना छोराछोरीलाई लिन ज्यामिरगढीका अभिभावक पुलसम्मै मोटरसाइकल र सिटी सफारी लिएर पुग्न बाध्य छन् ।
यसैबीच भद्रपुर र मेचीनगर नगरपालिकाका नगर प्रमुखद्वय गणेश पोखरेल र गोपाल बुढाथोकीले आइतबार भ्वाङ परेको पुलको निरीक्षण गरेका छन् । विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुवै नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ ।







