झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ ।
दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् ।
मंगलवार बिहान अन्दाजी १०:३० बजे वाल्मीकि स्कुल अगाडिबाट मे.६ प २८६७ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको थियो ।
Advertisement
वाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड-५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल हराएको थियो । हराउनेबित्तिकै उनले त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए ।
मोटरसाइकल खोजी गर्ने क्रममा हिजो साँझ ५:३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई-६ बस्ने २४ वर्षीय मनिष गिरीलाई पक्राउ गरेको हो ।







