श्रम स्वीकृति लिएर भारतको विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने भएको छ । नयाँदिल्लीस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै एनओसी नचाहिने जनाएको हो ।
श्रम स्वीकृति भएका नेपालीलाई भारतको एयरपोर्ट हुँदै श्रम गन्तव्य मुलुक जानको लागि एनओसी नचाहिने व्यवस्था गरिएको दूतावासले जनाएको छ । यूएसए, यूके तथा सेन्जेन मुलुकको भिसा भएका नेपाली नागरिकलाई पनि एनओसी नचाहिने दूतावासले जनाएको छ ।
साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी नचाहिने दूतावासले जनाएको हो ।
रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यवसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने दूतावासले उल्लेख गरेको छ ।







