झापाको बिर्तामोड-८ प्याकुरेल चौकमा भएको आगलागीका पीडित शिवलाल गौतमको परिवारलाई बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले राहत वितरण गरेको छ ।
आज बिहान पीडतकै घरमा पुगेर वडाध्यक्ष अजय कार्की, वडा सदस्यहरु अग्निप्रसाद सिटौला, इन्दिरा पाण्डे, सोयालाल राजवंशी, लक्ष्मी नेपाली लगायतले ग्यास चुल्हो, खाद्यान्न, भाडावर्तनलगायत गरी २१ हजार ४०० रुपैयाँ मूल्यको राहत वितरण गरेका हुन् ।
उक्त आगलागीबाट करिव १० लाखको क्षति भएको छ । गएराति ८:३० बजे गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो । आगलागीबाट भान्सा पूर्ण रुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका दुई वटा ग्यास सिलिण्डर पड्किएको थियो । आगलागीबाट एउटा ग्यास चुलो, अन्य भाडाबर्तन, अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भाग समेत जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा छिमेकी मोहन तिमल्सिना घाइते भएका थिए । उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ । स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।







