छठ पूजाका लागि बिरिङ खोलाको घाटतर्फ जाँदै गर्दा मोटरसाइकलले ठक्कर दिँदा तीनजना घाइते भएका छन् ।
आज साँझ ४:१० बजे बाह्रदशी गाउँपालिका वडा नं.२ लिम्बू गाउँ नजिक बिरिङ पुल पूर्व हुलाकी राजमार्गमा पश्चिमतर्फ पैदल जाँदै गरेकी कचनकवल गाउँपालिका वडा नं.६ बनियानी बस्ने ३० वर्षीया पुजा राजवंशीलाई सोही दिशाबाट आउँदै गरेको प्र.१-०१-०१३ प ८३५६ नं.को मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुवै खुट्टा र कम्मरमा चोट लागेर राजवंशी सख्त घाइते भएकी छन् । दुर्घटनामा मोटरसाइकल चालक बाह्रदशी-२ बुट्टाबारी निवासी २४ वर्षीय अविर आलम र सोही मोटरसाइकलमा अगाडि सवार आलमका छोरा तीन वर्षीय रियाज आलमसमेत सख्त घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
Advertisement







