झापामा यस वर्ष अरु ठाउँभन्दा बिर्ताबजारको छठ पूजाको चर्चा बढी छ । ५० हजारभन्दा बढी बत्ती बालेर तीन दिन अघिदेखि झिलिमिली बनाएपछि हेर्न आउने, सेल्फी खिच्ने र टिकटक बनाउनेका लागि आकर्षणको केन्द्र बनेको हो ।
आफ्नो ठाउँ छोडेर बिरिङ गएकाहरुलाई फर्काउन आयोजक नेपाल मधेसी समाज सेवा समितिले बिर्ताबजारस्थित अधुवा खोलामा भव्य छठ पूजाको आयोजना गरेको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए ।
समितिले बिर्ताबजारको चौकदेखि डोमालाल रंगशाला जाने बाटोसम्म, उत्तरतर्फ यातायात ब्यवस्था कार्यालय जाने बाटोसम्म करिव ८ सय मिटर बाटोभरि बत्ती टांगेर झिलिमिली पारेको छ ।
यस बर्ष छठ पूजाका लागि त्यहाँ २ सय पन्डालअन्तरगत ४ सय ब्रतालुहरुका लागि डाला तयार गरिएको गरिएको छ । आर्थिक अवस्था कमजोर भएका बिपन्न ब्रतालुहरुका लागि नि:शुल्क डालाको ब्यवस्था गरिएको अध्यक्ष मण्डलले बताएका छन् । पूजा सम्पन्न गर्नका लागि बिभिन्न समितिहरु गठन गरिएको छ ।
पूजा सम्पन्न गर्न अनुमानित ७ लाख रुपैयाँ खर्च हुने र ब्रतालु, भक्तजन र स्थानीय तहको सहयोगमा आर्थिक ब्यवस्थापन गरिने साथै अपुग खर्च समितिले ब्यहोर्ने छठ पूजा सेवा समितिका संयोजक संजयकुमार शर्माले जानकारी दिए ।







