आफ्नै गोरुले हानेर झापाको गौरादहमा एक जनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।
गौरादह नगरपालिका वडा नं.७ जामबारी बस्ने अन्दाजी ४८ वर्षीय कृष्ण शर्माको आफ्नै गोरुले हानेर मृत्यु भएको हो ।
बुधबार साँझ ५:४० बजे बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए । उनलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएको थियो । ढाडको सात वटा करङ भाँचिएका शर्मालाई थप उपचारको लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएकोमा हिजो दिउँसो ४:२० बजे उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गंभीर घाइते भएका छन् । टाउकोमा चोट लागेर लाईफ लाईन अस्पताल दमकमा उपचार भइरहेकोमा थप उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगर लगिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







