तिहार नेपालमा मनाइने प्रमुख पर्वमध्ये एक हो, जुन विशेषगरी बालबालिकाका लागि अत्यन्तै रमाइलो हुन्छ । यस पर्वले उज्यालो, रंग र मिठासको अनुभव गराउँछ । तिहारमा बालबालिकाले रमाइलो गर्नुका साथै संस्कृति र परम्पराबारे नयाँ कुरा सिक्छन् । जसले उनीहरुको मानसिक स्वास्थ्य समेत बलियो बनाउँछ । तिहारको पाँच दिनलाई रमाइलो र अर्थपूर्ण बनाउनका बालबालिकाले रमाइलो गर्ने बारे चर्चा गरिएको छन् ।
घर सजाउने र दीप बाल्ने
तिहारमा घर सफा गरी फूल, माला, र दीपले सजाउने परम्परा छ। बालबालिकाले आमा-बाबुसँग मिलेर घर सफा गर्न र आँगनमा फूलमाला राख्न सक्छन् । दीप बाल्ने परम्परामा बालबालिकाको विशेष रुचि हुन्छ । उनीहरूले रंगीन दियोहरू बाली घरभरि राख्न र उज्यालोले भर्न सक्छन् । यसले बालबालिकाले पर्वको महत्त्व बुझ्न पनि मद्दत गर्छ ।
रङ्गोली बनाउन सिकाउने
तिहारमा रङ्गोली बनाउने चलन छ, जुन बालबालिकाको लागि एकदमै रमाइलो हुन्छ । उनीहरूलाई विभिन्न रङहरूको प्रयोग गरेर रङ्गोली बनाउन सिकाउन सकिन्छ । यो उनीहरूको सिर्जनशीलता विकास गर्न मद्दत पुर्याउँछ । बालबालिकाले आफ्नै रङ्गोली बनाउन पाउँदा थप रमाइलो महसुस गर्छन् ।
देउसी-भैलो खेल्न जानु
देउसी-भैलो तिहारको एक महत्वपूर्ण परम्परा हो। बालबालिकाले आफ्ना साथीहरूसँग मिलेर गाउँभरि देउसी-भैलो खेल्न जान सक्छन् । देउसीको गीत गाएर, नाचेर र हासखेल गर्दै उनीहरू रमाइलो मात्र गर्दैनन्, संस्कार पनि सिक्छन् । यस क्रममा आर्जित मिठाइ र पैसा उनीहरूको रमाइलो अझ बढाउँछ ।
मिठाई र परिकार बनाउने
तिहारमा बनाइने विशेष परिकारहरू जस्तै सेलरोटी, अनरसा, लड्डु आदिलाई बालबालिकाले अत्यन्तै मन पराउँछन् । आमा-बाबुसँगै मिलेर परिकार बनाउन उनीहरूको चासो हुन्छ । उनीहरूलाई परिकार बनाउन सघाउँदा रमाइलो त हुन्छ नै, साथसाथै खाना बनाउने सीप पनि सिक्न सक्छन् ।
भाइटीकामा सहभागिता
तिहारको भाइटीकाको दिन विशेष महत्व राख्छ । बालबालिकाहरूलाई आफ्ना भाइबहिनीलाई टीका लगाउने, माला लगाइदिने, र आशीर्वाद दिने संस्कार सिक्न दिइन्छ । यो दिनले उनीहरूलाई पारिवारिक सम्बन्धको महत्त्व बुझ्न मद्दत गर्छ । टीका लगाउने र मिठाइ खाने क्षण बालबालिकाको लागि विशेष रमाइलो हुन्छ ।
विभिन्न खेल खेल्ने
तिहारको समयमा बालबालिकाले साथीहरू र परिवारसँग पिङ खेल्ने, फुटबल खेल्ने, कबड्डी जस्ता खेल खेल्दै रमाइलो गर्न सक्छन् । यसले उनीहरूको सामाजिकता र शारीरिक सक्रियता बढाउँछ ।
पशुपक्षीलाई माया र आदर गर्न सिकाउने
तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गर्ने परम्परा छ । बालबालिकालाई पशुपक्षीप्रति माया र आदर गर्न सिकाउन यो अवसर उत्तम हो । उनीहरूले तिहारको समयमा पशुपक्षीलाई खाना खुवाउने र पूजा गर्ने प्रक्रियाबाट पनि संस्कार सिक्न सक्छन् ।
तिहार बालबालिकाको लागि रमाइलो मात्र होइन, परम्परा, संस्कृति, र पारिवारिक सम्बन्ध बुझ्ने अवसर पनि हो । घर सजाउने, देउसी-भैलो खेल्ने र भाइटीकामा सहभागी हुने जस्ता कार्यहरूले उनीहरूको पर्वको अनुभवलाई अझै विशेष बनाउँछ । यसैले बालबालिकालाई तिहारको महत्त्व सिकाउँदै उनीहरूको चाड मनाउने तरिकालाई अझै रमाइलो बनाउन परिवारले पनि ध्यान दिनु आवश्यक छ । (बालरोग विशेषज्ञ डा सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर हुन्)







