नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ ।
डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप-१, सेरोटाइप-२, सेरोटाइप-३ सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिए ।
सात वर्षअघि सेरोटाइप-१, सेरोटाइप-२, सेरोटाइप-३, सेरोटाइप-४ सक्रिय रहेकोमा अहिले तीन प्रकारका भाइरसका स्वरूप सक्रिय रहेको पाइएको उनले बताए । शाखाका प्रमुख डा.दाहालका अनुसार कात्तिकसम्म लामखुट्टे सक्रिय हुने भएकाले जोखिम हुने बताएका छन् ।
उनले कात्तिकपछि जाडो अलि बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे पनि हराउँदै जाने बताए । डेङ्गी सङ्क्रमण हुम्लाबाहेक सबै जिल्लामा देखिएको छ । अहिलेसम्म देशभर २८ हजार दुई सय १२ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ ।
वर्षाका बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको हो । डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न निर्णय सरकारले गरेको छ ।







