आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपमा विजयी सुरुवात गरेको छ ।
उद्घाटन खेलमा रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई ५-२ गोल अन्तरले हराउँदै शानदार जित निकालेको हो ।
जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको २५ औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे भने खेलको ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा टिमका लागि चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा रोहण कार्कीले गोल गर्दै फराकिलो जित निश्चित गराएका थिए ।
एपिएफका लागि खेलको ३३ औँ मिनेटमा समिर दर्जी कार्की र खेलको इन्ज्युरी समयमा कुमार राईले गोल फर्काएका थिए ।
खेलको प्लेयर अफ द म्याच रोलिङका दुई गोलकर्ता उत्सव राई भए भने उनले नगद पाँच हजार र ट्रफी पाएका छन् । उनलाई मेचीनगर-१० का वडाध्यक्ष नारायण पोखरेल, खेलप्रेमी तुमन रोय र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले नगद तथा ट्रफी प्रदान गरेका थिए ।
भोलि हुने दोस्रो क्वार्टरफाइनल खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसी र राष्ट्रिय जागृति क्लब इटहरीबीच प्रतिस्पर्धा हुनेछ । धुलाबारी माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने क्लबका सचिव महेश खड्काले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।







