सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको हो । पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले लामिछानेलाई सडकमार्ग हुँदै राति नै पोखरा लगेको हो । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेको प्रहरीले जनाएको छ ।
शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार मात्रै उनलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।







