झापामा आइतबार भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।
चारै जनाको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको हो । २४ घण्टा नबित्दै जिल्लाभरि सात वटा दुर्घटना भएको र ती दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै आठजना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ती सातवटा दुर्घटनामध्ये पाँचवटा मोटरसाइकल दुर्घटना भएका हुन् भने एक-एकवटा सिटी र ट्रयाक्टर दुर्घटना भएको कार्यालयले जनाएको छ ।
कमल गाउँपालिका वडा नं.४ अमलडाँगीस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
मध्यरातमा पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को २७ प ३५१३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका-८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो ।
त्यसैगरी मेचीनगर-७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आइतबार बिहान ६:३० बजेतिर मेचीनगर-७ इटाभट्टास्थित एनएमसी डेरी अगाडि होटल मेची क्राउनबाट काँकरभिट्टतर्फ जाँदै गरेको मेची क्राउनमा काम गर्ने मेचीनगर-६ का २० वर्षीय अभिशेक लिम्बुले चलाएको प्र.०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक मेचीनगर-७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकल यात्री राजवंशी, मोटरसाइकल चालक लिम्बू ,मोटरसाइकलमा पछाडी सवार मेचीनगर-६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठसमेत तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा साइकल यात्री राजवंशीको बिहान ७ बजे मृत्यु भएको हो । मोटरसाइकल चालक र पछाडि सवार दुबै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै दमक नगरपालिका-२ ढुकुरपानीस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
शनिबार साँझ ५:५० बजे ढुकुरपानीबाट हिमालय मावितर्फ आउँदै गरेको प्रदेश १-०२-४१ प १७४७ नं को मोटरसाइकलले साइकल यात्री सोही ठाउँ बस्ने ७६ वर्षीय जयराम गुरागाईलाई ठक्कर दिएको थियो । घाइते गुरागाईंलाई आम्दा अस्पताल दमकमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएकोमा आइतबार साँझ ६:३० बजे उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।







