झापाको मेचीनगर-७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।
आज बिहान ६:३० बजेतिर मेचीनगर-७ इटाभट्टास्थित एनएमसी डेरी अगाडि होटल मेची क्राउनबाट काँकरभिट्टतर्फ जाँदै गरेको मेची क्राउनमा काम गर्ने मेचीनगर-६ का २० वर्षीय अभिशेक लिम्बुले चलाएको प्र.०१-१७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकलयात्री सगरमाथा यातायातका चालक मेचीनगर-७ बस्ने अन्दाजी ५० वर्षीय डिकेन राजवंशीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा साइकलयात्री राजवंशी, मोटरसाइकल चालक लिम्बू ,मोटरसाइकलमा पछाडी सवार मेचीनगर-६ बस्ने २१ वर्षीय रमेश श्रेष्ठसमेत तीन जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा उपचारको क्रममा साइकलयात्री राजवंशीको बिहान ७ बजे मृत्यु भएको हो ।
मोटरसाइकल चालक र पछाडि सवार दुबै जनाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । दुबै जनाको टाउको, शरीरको बिभिन्न भागमा चोट लागेको र अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । आपसी समझदारीमा अवरोध हटाएर यातायात सुचारु गराएको प्रहरीले जनाएको छ ।







