केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण झापामा बाढी र डुबानमा परी २३८ घरपरिवारका १ हजार ११७ जना विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विस्थापितलाई छिमेकी तथा अन्य सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बिरिङ खोलाको बाढी पसी झापा गाउँपालिका-६ भन्द्रबस्तीका ५० घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
बस्ती डुबान भएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । भद्रपुर-३ स्थित नयाँ बस्तीमा ३० घर डुबानमा परेका छन् । उनीहरूलाई भद्रपुर-२ महेशपुरस्थित स्वास्थ्य चौकीमा स्थानान्तरण गरिएको छ ।
त्यस्तै बाह्रदशी गाउँपालिका-२ स्थित सुकुम्वासी बस्तीमा २४ घरमा पानी पसेको छ । उनीहरूलाई आफ्नो घरमा सारिएको प्रवक्ता चन्दले जानकारी दिए ।
यस्तै भद्रपुर-५ गैरीगाउँमा मेची खोला पस्दा २० घर विस्थापित भएका छन् । शिवसताक्षी नगरपालिका-१० बिहानी टोलमा कनकाई खोलाले कटान सुरु गर्दा १५ घरमध्ये ६ घर अति जोखिममा रहेकाले मुक्तिघाटको भवनमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । शिवसताक्षी-७ मा एक घरपरिवार विस्थापित भएका छन् ।
बिर्तामोड-५ र बिर्तामोड-४ मा ७ घर परिवार विस्थापित भएका छन् । बिर्तामोड-८ बाह्रबिघेमा ३ घर विस्थापित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कनकाई नगरपालिका-३ झर्ना बस्तीमा शन्का खोला र सुरुंगा खोलाको पानी पस्दा ११ घर विस्थापित भएका छन् । बिर्तामोड-३ सिर्जना टोलमा अदुवा खोलाको पानी पस्दा ९ घर विस्थापित भएका छन् । हल्दिबारी गाउँपालिका-२ खर्साङचोकमा १३ घरपरिवार विस्थापित भएका छन् ।
भद्रपुर–६ डाँगडोरा खोलाको पानी पस्दा दुई घर विस्थापित भएका छन् । झापा गाउँपालिका-६ मा बिरिङ खोलाको बाढी पस्दा तीन घर विस्थापित भएका छन् ।
गौरीगञ्ज गाउँपालिका-१ बाङ्गे टोलमा कमल खोला पस्दा १२ घरपरिवार विस्थापित भएका छन् । भद्रपुर-४ मेची गाउँमा डुबानले ६ घर विस्थापित भएका छन् ।
कचनकवल गाउँपालिका-७ भट्टा टोलमा डुबान हुँदा १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई आफन्त, छिमेकी र सार्वजनिक भवनहरूमा राखिएको प्रहरीले जनाएको छ ।







