झापाको गौरीगञ्ज गाउँपालिका वडा नं ५ मा नवनिर्मित उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न जग्गादाता परिवारले अवरोध गरेका छन् ।
उपस्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्न गएकी गाउँपालिका अध्यक्ष फुलवती राजवंशीको हातबाट दाता परिवारले रिवन काट्ने कैची खोसेका हुन् ।
स्वास्थ्य केन्द्रको कर्मचारी नियुक्तिमा चलखेल गरेको र कर्मचारी छनौटमा जग्गादाताको सन्तानलाई प्राथमिकता नदिएको उनीहरुको गुनासो छ । स्वास्थ्य केन्द्रका लागि गाउँपालिकाले आवेदन माग गरी खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी छनौट गरेको थियो ।
त्यस परीक्षामा गौरीगञ्ज ५ का वडाध्यक्ष विजयसिंह गन्गाईकी छोरी उत्तीर्ण हुन सकिनन् । गाउँपालिका अध्यक्ष राजवंशीले रिवन काट्नै लाग्दा वडाध्यक्षका दाजु गुरुदेव गन्गाई लगायतले होहल्ला गरी कार्यक्रमलाई विथोलेका थिए ।
वडाध्यक्ष गन्गाईले छोरीलाई जागिर नदिएको रिसमा गाउँका महिलालाई उचालेर कार्यक्रम विथोल्न लगाएको बताइएको छ । वडाध्यक्ष गन्गाईसहित उनका परिवारले स्वास्थ्य केन्द्र स्थापनाका लागि २०७४ सालमा जग्गा दान दिएका थिए ।







