ज्ञानुराम प्रसाईं स्मृति प्रतिष्ठानले झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रगतको अभाव भइरहेका बेला प्रतिष्ठानले मंगलबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बिर्तामोड नगरपालिकाकी प्रमुख एवम् प्रतिष्ठानकी संरक्षक पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा प्रतिष्ठानले आयोजना गरेको रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीसहित १०१ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठानका सहसचिव टीकाराम प्रसाईंले बताए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईंले प्रतिष्ठानमार्फत विभिन्न सेवामूलक सामाजिक अभियानहरू सञ्चालन गरिने बताउँदै सदस्य विस्तार अभियानलाई तीव्र बनाइने बताइन् ।
नेकपा एमाले लेखा आयोग सदस्य जसमाया गजमेर र एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य ज्ञानेन्द्र प्रकाश ओलीले शुभकामना मन्तव्य राखेको कार्यक्रमका सहभागीलाई प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्वागत गरेका थिए ।
बिर्तामोडका सामाजिक एवम् राजनीतिक व्यक्तित्व ज्ञानुराम प्रसाईंको योगदानलाई चीरस्थायी बनाउँदै सामाजिक कार्य गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना भएको जनाइएको छ ।







