झापाको बिर्तामोडमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज साँझ ५:१० बजे बिर्तामोड नगरपालिका वडा नं.५ स्थित हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ जाँदै गरेको प्र१-०२-००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र१-०१-०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकलमा पछाडि सवार इलाम माई नगरपालिका वडा नं.४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटी गंभीर घाइते भएकी थिइन् । घाइते पाँचकोटीलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा बाटोमा नै उनको मृत्यु भइसकेको थियो । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३६ वर्षीय ठिरप्रसाद सुवेदीलाई भने केही नभएको बताइएको छ ।
बस र बस चालक कन्काई नगरपालिका वडा नं.३ बस्ने २९ वर्षीय हिमाल बि.क.र मोटरसाइकल चालक सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।







