पाँचथरमा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।
विस्फोटमा घाइते भएकामध्ये ११ वर्षीय दिप्सन सावाँ र दुई वर्षीया प्रिन्सा सावाँको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ । पाँचथरका प्रहरी प्रमुख डीएसपी हेमन्त भण्डारीले घटनाको पुष्टि गर्दै उपचारका क्रममा दुई जनाको मृत्यु भएको बताए ।
पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङबुङको डाँडागाउँ टोलमा बिहिबार दिउँसो विस्फोट भएको थियो । स्थानीय आइतराज केरुङको घरमा विस्फोट हुँदा चारजना बालबालिका घाइते भएका थिए ।
केरुङ पाँचथर सदरमुकाम फिदिममा बस्दै आएका छन् । केरुङको घरमा ज्ञानुराज राई बस्ने गरेको पाँचथर प्रहरीले जनाएको छ । घटनामा घाइते भएका पवनको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार उक्त क्षेत्रमा अझै विस्फोटक पदार्थ रहेको अनुमान गरिएको छ । रातिदेखि नै उक्त क्षेत्रलाई सिल गरिएको छ ।







