झापाको गौरीगञ्जमा एक बृद्धको कुहिएको शव फेला परेको छ ।
गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोलका राजेश सरवरिया मण्डलको घरमा बस्दै आएका ७० वर्षीय दयानन्द सरवरिया मण्डलको शव फेला परेको हो ।
घरको पूर्वपट्टि कदमको रुखमुनि रहेको ट्युवेलमा मण्डल मृत अवस्थामा फेला परेका हुन् । उनको शव किरा परेर गन्हाउने अवस्थामा देखेर स्थानीयले आज बिहान ८:४५ बजे इलाका प्रहरी कार्यालय गौरीगञ्जमा खबर गरेका थिए ।
Advertisement
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाह, वडा नं.३ का अध्यक्ष श्रवण गिरी, स्थानीय जनप्रतिनिधिको रोहबरमा शवलाई मुचुल्का प्रकिया पुरा गरी पोस्टमार्टमका लागि दमकतर्फ लाने तयारी भइरहेको जनाइएको छ । ४-५ दिन अगाडी मण्डलको मृत्यु भएको हुन सक्ने शवको स्थितिबाट देखिएको छ ।







