बीएण्डसी हस्पिटलका संस्थापक तथा दुर्गा प्रसाईंका दाजु महेन्द्र प्रसाईं मृत भेटिएका छन् ।
अर्जुनधारा-६ महानन्द चौक निवासी प्रसाईं बिर्तामोड-१ स्थित नरेन्द्र मैनालीको घरमा मृत भेटिएका हुन् ।
मैनाली काठमाडौँमा बस्दै आएका छन् । उनको खाली घरको दोस्रो तलामा गएर प्रसाईं झुन्डिएको प्रहरीले बताएको छ ।
उनी लामो समयसम्म बिर्तामोडको बीएण्डसी हस्पिटलका सञ्चालक रहेका थिए । उनी दुर्गा प्रसाईं र बुद्धशान्तिका प्रेम नेम्वाङको सक्रियतामा बीएण्डसी हस्पिटल स्थापना भएको थियो । नेम्वाङ र मृतक प्रसाईं केही समय पहिला नै हस्पिटलबाट बाहिरिएका थिए ।
सुरुमा जमिनको कारोबार गरेका उनी हस्पिटलबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा खासै देखिन छोडेका थिए । उनले दुर्गा प्रसाईंभन्दा अगाडि भ्रष्टाचारविरोधी अभियान संचालन गरेका थिए । पछि दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानमा जोडिएका थिए ।







