गएराति आएको हावाहुरीले झापाको मेचीनगरमा ठूलो क्षति पुर्याएको छ ।
हावाहुरीले घरको छाना उडाउनुका साथै बिजुलीको पोल ढालेर क्षति गरेको हो ।
चारआलीको पाउ पाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति पुगेको हो । कारमा पाँच जना सवार रहेकोमा कसैलाई केही पनि नभएको चारआली प्रहरी चौकीका इन्चार्ज सई टंक कोइरालाले बताए । रुख ढलेर अवरुद्ध भएको राजमार्गलाई जेसीबी लगाएर राति नै सुचारु गराएको उनले जानकारी दिए ।
त्यस्तै हावाहुरीले बिजुलीको पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । चारआली क्षेत्रमा ५/६ वटा बिजुलीको पोलमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका कर्मचारी युवराज न्यौपानेले बताए । उनले चारआली क्षेत्रमा राति नै विद्युत् सुचारु गरिएको बताउँदै धुलावारी क्षेत्रमा अवरुद्ध नै रहेको जानकारी दिए ।
हावाहुरीले आफूहरुको क्षेत्रमा निकै क्षति पुर्याएको मेचीनगर-१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए । उनले बिजुलीको पोल र तारसंगै वडाबासीहरुको घरहरुमा पनि क्षति पुगेको जानकारी दिए । घरहरुमा पुगेको क्षतिको विवरण संकलन भइरहेको उनले बताएका छन् ।
हावाहुरीले विभिन्न ठाउँहरुमा रुख ढालेर क्षति गरेको जानकारी आएको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले मानवीय क्षति नभएको बताए ।







