नेपाली कांग्रेस हल्दिवारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेका छन् ।
बुधबार दिउँसो ३:३० बजे पौडेलले हल्दिबारी गाउँपालिका वडा नं २ प्रसाईं बस्तीस्थित नेपाली कांग्रेसका गाउँ समितिका सभापति गंगा प्रसाईंको घरमै आएर प्रसाई र उनकी बुहारी अन्दाजी बर्ष ३० की रेखा खरेल प्रसाईंमाथि धारिलो हतियार सिक्कल प्रहार गर्न खोजेका थिए । त्यहाँ भएका स्थानीयवासीले जोगाएका थिए ।
हल्दिवारी प्रहरीले उनलाई नियन्त्रणमा लिई साँझ ६:३० बजे जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाएको छ । प्रहरीले उनले प्रयोग गरेको प्र १-०१-०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।
केही बर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले विगत एक बर्षदेखि सामाजिक संजालमार्फत बुहारी रेखालाई धम्क्याउने तथा गालीगलौज गर्दै आएका थिए ।
उनले ससुरा गंगा र बुहारी रेखालगायत प्रसाईं परिवारका अन्य सदस्यहरुको पनि सामाजिक संजालमार्फत चरित्र हत्या गरेपछि गत बर्षको चैत महिनामा पौडेलमाथि जिल्ला प्रहरी कार्यालय झापा र साइबर व्यूरोमा साइबर अपराधसम्बन्धी उजुरी गरिएको थियो । सोही विषयलाई लिएर पौडेलले रेखा र गंगालाई हतियार प्रहार गर्न खोजेको जनाइएको छ ।







