रगतको अभाव भइरहेको बेला झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम गरिएको छ ।
पञ्चकन्या सोसाइटी र बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा सोमवार भएको रक्तदानमा ५४ जनाले रगत दान गरेका छन् ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोग रहेको थियो ।
बिर्तामोड-१ स्थित बिन्ध्यावासिनी दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।
बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला र पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सोसाइटीका कोषाध्यक्ष बिष्णु चुडालले गरेका थिए ।
‘पञ्चकन्या सोसाइटीको चाहना, सभ्य समाजको परिकल्पना’ भन्ने मुल नाराका साथ सोसाइटीले रक्तदानसहित विविध सामाजिक काम गर्दै आएको सचिव बिपी लामिछानेले जानकारी दिए ।







