भारतले आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले दोस्रोपटक उपाधि जितेको हो । भारतले यसअघि सन् २००७ मा पहिलो पटक टी-२० विश्वकपको उपाधि जितेको थियो ।
भारतले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए । भारतका हार्दिक पाण्ड्याले सर्वाधिक तीन विकेट लिएका थिए ।
त्यसअघि बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २० ओभरमा सात विकेट गुमाएर एक सय ७६ रन बनाएको थियो । ओपनर विराट कोहलीले सर्वाधिक ७६ रन बनाए । दक्षिण अफ्रिकाका केशव महराजा र एनरिर्च नोर्ट्जेले दुई–दुई विकेट लिएका थिए ।
यसैबीच भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र पूर्व कप्तान विराट कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । फाइनल खेलपछिको पत्रकार सम्मेलनमा कप्तान शर्माले यो विदा लिने उपयुक्त समय भएको बताए ।
यसअघि सन् २००७ मा भएको टी-२० विश्वकपको पहिलो संस्करणमा भारत च्याम्पियन बन्दा पनि रोहित शर्मा टोलीका सदस्य थिए । सन् २०११ मा एक दिवसिय विश्वकपको उपाधि जित्दा टोलीको सदस्य रहेका पूर्व कप्तान विराट कोहलीको भने यो पहिलो टी-२० विश्वकप उपाधि हो ।







