झापाको बिर्तामोड-४ का १६ वर्षीय अंशु श्रेष्ठको दुर्घटना भएको करिब चार महिनापछि उपचारका क्रममा निधन भएको छ ।
सडक दुर्घटनामा घाइते भएका उनको बिर्तामोडको बिएन्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।
गत माघ १२ गते अन्दाजी साँझ ५:४५ बजेको समयमा बिर्तामोड-३ दुर्गा पार्टी प्यालेस छेउस्थित भित्री पक्की सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गइरहेको प्र १-०१-००१ च ७१५३ नम्बरको कार र विपरीत दिशातर्फ आउँदै गरेको मे.६प १६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड-४ बस्ने १८ वर्षीय सचिन खतिवडा र सोही मोटरसाइकलको पछाडि बसेका बिर्तामोड-३ का १९ वर्षीय कलिस लिम्बू सकुशल रहेका थिए । सोही मोटरसाइकलको पछाडि बसेका अंशु श्रेष्ठको खुट्टामा चोट लागेर सामान्य घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पुर्याएर सामान्य उपचारपछि डिस्चार्ज भई घर ल्याइएकोेमा राति समस्या परेपछि थप उपचारको लागि ओमसाई पाथिभरा अस्पताल भद्रपुर पठाइएको थियो ।
माघ १३ गते इलाका प्रहरी कार्यालय अनारमनीमा खबर प्राप्त हुनासाथ कार र कार चालक बिर्तामोड-५ बस्ने ३० वर्षीय विशाल विकलाई नियन्त्रणमा लिएको थियो । जेठ १० गते घाइते अंशुलाई थप उपचारको लागि बिएन्डसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा आइतबार बिहान ७ बजे उनको मृत्यु भएको हो ।
घटनाको जानकारी प्राप्त भएपछि कार चालक विकलाई नियन्त्रणमा लिन समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।







