ब्रिक्सको १२ औं शिखर सम्मेलन बहुपक्षीयताको प्रवर्द्धनमा जोड दिँदै सम्पन्न भएको छ । कोभिड–१९ का कारण सो सम्मेलन पहिलोपटक भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो ।
सम्मेलनले अहिले विश्वमा देखा परेका समस्याहरु समाधान गर्नका लागि अझ नजिकको सहकार्य गर्नुपर्ने र अन्तर्राष्ट्रिय संगठनहरुलाई अझ सुदृढ पार्नु पर्नेमा जोड दिएको छ । सम्मेलनपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ, ‘हामी बहुपक्षीयता र पारस्परिक सम्मान, सार्वभौम समानता, प्रजातन्त्र, समावेशी र सुदृढ सहकार्यको सिद्धान्तप्रति पुनः जोड दिन चाहान्छौं ।’
सम्मेलनाई सम्बोधन गदै चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ लगायतका महामारीलाई पराजित गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए । उनले सम्बोधनमा क्रममा बहुपक्षीयतालाई विशेष जोड दिएका थिए ।
पछिल्लोपटक चिनियाँ अधिकारीहरुले बहुपक्षीयताको प्रवर्द्धनमा विशेष जोड दिन थालेका छन् । राष्ट्रपति सीले दीर्घकालीन विकास र वातावरण संरक्षणमा जोड दिएका थिए ।
त्यसैगरी सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ भ्याक्सिन उत्पादन र आतंकवाद नियन्त्रणमा सबै मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।







