बिर्तामोडका धेरै महिलामा आङ खस्ने समस्या पाइएको छ ।
लायन्स क्लब अफ बिर्तामोड लेडीले बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालको प्राविधिक सहयोग र बिर्तामोड नगरपालिकाको सहयोगमा जलकन्या मन्दिर बुट्टाबारी-६ मा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा महिलामा सो समस्या भेटिएको हो ।
८१ जना महिलाले आफ्नो पाठेघरसम्बन्धी जाँच गराउँदा ११ जनाको आङ खस्ने समस्या भेटिएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओलीले बताइन् ।
पाठेघर सम्बन्धी सचेतना तथा पाठेघरको मुखको क्यान्सर जाँचसम्बन्धी नि:शुल्क स्वास्थ्य शिविरमा गाइनोक्लोजिष्ट डा.ज्योति लामाको टीमले सचेतनासंगै स्वास्थ्य जाँच गरेको थियो ।
बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स लिडर, बीएण्डसी तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी, छठ युवा फ्रन्ट, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







