अपाङ्गता भएका व्यक्तिहरूका लागि सीपमूलक तालिम बिर्तामोडमा सुरु भएको छ ।
बिर्तामोड नगरपालिका वडा नं.९ स्थित दुर्गा माध्यमिक विद्यालयमा १५ दिने चप्पल बनाउने तालिम आजबाट सुरु भएको हो ।
अपाङ्गता क्षेत्रको समन्वय गर्ने निकाय लेखाजोखा तथा परामर्श केन्द्र झापाको आयोजनामा सञ्चालित तालिमको आज एक विशेष समारोहका बीच बिर्तामोड नगर शिक्षा शाखाका अधिकृत केशरबहादुर खवासले उद्घाटन गरेका थिए ।
सो तालिममा बिर्तामोड नगरपालिका क्षेत्रभित्रका बौद्धिक अपाङ्ग, बहिरा, सुस्त श्रवण तथा शारीरिक अपाङ्गता भएका २० जना प्रशिक्षार्थीहरूको सहभागीता रहेको छ ।
उक्त तालिमको सहजीकरण सन्तोष रोकाले गर्ने छन् ।
सो कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि खवासले तालिमले विभिन्न क्षमता भएका अपाङ्गहरूलाई स्वरोजगार बनाउन प्रेरित गर्नुका साथै घरैमा बसीबसी सानो मात्रामा भएपनि उद्यमशीलता सञ्चालन गर्न सकिने आशा व्यक्त गरेका थिए । 
दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण सिवाकोटीको सभापतित्वमा भएको कार्यक्रममा विराट आधारभूत विद्यालयका स्रोत शिक्षक रङ्गलाल न्यौपाने र प्रशिक्षक सन्तोष रोका लगायतले तालिमको औचित्यमाथि प्रकाश पारेका थिए ।
दुर्गा माविका दृष्टिविहीन तर्फका स्रोत शिक्षक चन्द्रप्रसाद भट्टराईले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखाजोखा तथा परामर्श केन्द्र झापाका संयोजक भुवन पौडेलले गरेका थिए ।







