दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई-लाइब्रेरी सञ्चालनमा ल्याइएको छ ।
क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमबीच ई-लाइब्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले शुभारम्भ गरेका हुन् ।
ई-लाइब्रेरीको उद्घाटनका क्रममा अध्यक्ष भण्डारीले शिक्षण सिकाइलाई प्रविधियुक्तसँगै प्रभावकारी बनाउन यस कार्यले सघाँउ पुर्याउने विश्वास व्यक्त गरेका थिए ।
लाइब्रेरी शाखाका प्रमुख हरि ढकालका अनुसार सुरुआतीका क्रममा पाँच कम्प्युटर राखेर ई-लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । आवश्यकताअनुसार थप विस्तार गर्दै लैजाने लक्ष्य राखिएको उनको भनाइ छ । उनले ई-लाइब्रेरीबाट विद्यार्थीले केन्द्रीय पुस्तकालयको समन्वयमा इरिसोरेर्सलगायतका शैक्षिक अध्ययन गर्न प्रत्यक्ष सुविधा पाउने बताएका छन् ।
क्याम्पसको पुस्तकालय ताथा प्रयोगशाला व्यवस्थापन उपसमितिका संयोजक वेदु गौतमको अध्यक्षतामा भएको ई-लाइब्रेरी उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख यज्ञराज गिरी, सञ्चालक समितिका सदस्य गेहनाथ पोख्रेललगायतले ई-लाइब्रेरीको महत्व र उपयोगिताका विषयमा चर्चा गरेका थिए ।
क्याम्पसले यसअघि भने अध्यापकका लागि ई-लाइब्रेरी स्थापना गरेको थियो । क्याम्पसमा विद्यार्थीका लागि लाइबे्ररी स्रोतसाधनले मजबुत भए पनि हाल सञ्चालनमा रहेको लाइब्रेरी कक्षको भवन भने पर्याप्त नभएकाले छुट्टै भवन निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग आवश्यक बजेटका लागि पहल भइरहेको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिका संयोजक गौतमले बताएका छन् ।







