बेलबारी एफसी मोरङ बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा इलामको रेडहर्स एफसीलाई २-० गोलले पराजित गर्दै बेलबारी एफसी सेमिफाइनलमा पुगेको हो । बेलबारीको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।
खेलको १४औँ मिनेटमा विवेक पौडेलको क्रसपासमा प्रशान्त अवस्थीले बेलबारीलाई सुरुवाती अग्रता दिलाएका थिए । पेनाल्टी एरियाबाट उनले गरेको प्रहारलाई विपक्षी गोलरक्षकले बचाउ गर्न सकेनन् । खेलमा दोस्रो गोल पनि अवस्थीले नै गरेका थिए । ४३औँ मिनेटमा सागर तिवारीले पेनाल्टी एरियामा दिएको हेडरलाई सदुपयोग गर्दै अवस्थीले सुन्दर गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच बेलबारीका दुुई गोल गर्ने खेलाडी प्रशान्त अवस्थी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
बुधबारको पहिलो सेमिफाइनल खेलमा आयोजक आदर्श युवा क्लबले भारतको मानेभन्ज्याङ एफसीको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने संयोजक मनेष दाहालले जानकारी दिए ।







