वेस्टइन्डिज ‘ए’ सँगको पाँच खेलको टी-२० क्रिकेट अन्तरगत दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
आज भएको खेलमा नेपाललाई वेस्टइन्डिज ‘ए’ ले १० रनले हराएको हो ।
वेस्टइन्डिज ‘ए’ ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सकेको हो ।
नेपालका कप्तान रोहितकुमार पौडेलले नटआउट ७१ रन र गुल्सन झाले २६ रन बनाएका थिए । वेस्टइन्डिज ‘ए’ का ओबेड मकोए र गुदाकेश मोटीले समान दुई विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रन बनायो । वेस्ट इन्डिज ‘ए’ का आन्द्रे फ्लेचरले सबैभन्दा धेरै ४३ रन बनाएका थिए ।
यस्तै गुदाकेश मोटीले ८ बलमा नट आउट ३३ रन बनाए । नेपालका सागर ढकाल र कुशल भुर्तेलले समान दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।







