वेस्ट इन्डिज ‘ए’ सँगको पाँच खेलको टी-२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ ।
आज भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको हो ।
वेस्ट इन्डिज ‘ए’ ले दिएको २ सय ५ रनको लक्ष्य नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेटायो । नेपालका कप्तान रोहितकुमार पौडेलले शतक बनाएका थिए ।
रोहित ५४ बलमा १ सय १२ रन बनाएर आउट भए । वेस्ट इन्डिज ‘ए’ का म्याथ्यु फोर्डे र ओबेड मकोएले समान दुई विकेट लिएका थिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।
वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले सबैभन्दा धेरै ७४ रन बनाए भने एलिक अथान्जीले ४७ रन बनाएका थिए । नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल र अबिनाश बोहराले समान एक विकेट लिएका थिए ।
टी-२० क्रिकेट शृङ्खलाको दोस्रो खेल भोलि आइतवार, तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।







