झापासहित तीन जिल्लामा ‘अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम’ सञ्चालनमा हुने भएको छ ।
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ देखि झापा, तेह्रथुम र पाँचथरमा अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालन ल्याउन लागेको हो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले कार्यक्रम सञ्चालन गर्नका लागि झापाका १५ वटै पालिका जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराएर कार्यक्रमबारे अभिमुखीकरण कार्यक्रमसमेत गरिसकेको मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जानकारी दिए ।
कोशी प्रदेश सरकारले करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेशसँग सहकार्य गरेर कोशी प्रदेशका ११ जिल्लाका एक सय सातवटा स्थानीय तहमा ‘अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
झापाका १५ वटा पलिकामा कार्यक्रम सञ्चालन गर्न पहिलो वर्ष कुल रु १४ करोड ८४ लाख ७२ हजार लागत अनुमान गरिएको छ । जसमा तीनवटै साझेदार संस्थाले समान रु चार करोड ९४ लाख ९० हजारलगायत सहभागिता जनाउनुपर्ने सामाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख फणिन्द्र खत्रीले बताएका छन् ।
अपाङ्गता रोकथामसँगै अपाङ्गता भएका मानिसलाई सम्मानपूर्वक जीवन बिताउन मद्दत गर्ने मुख्य उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको करुणा फाउण्डेशनका योगेन्द्र गिरीले बताए ।
“स-साना कुराले पनि मानिस अपाङ्गताको सिकार हुनुपरेको छ”, उनले भने, “स्वास्थ्य सचेतना अपनाउन सके अपाङ्गताको समस्या धेरै समाधान गर्न सकिन्छ ।” फोलिक एसिडको चक्की सेवन गरेमात्र पनि अपाङ्गता भएको शिशु जन्मने खतरा ९५ प्रतिशत कम हुने उनले बताएका छन् ।
नेपालमा १० हजार शिशु जन्मिँदा ५९ दशमलव नौ प्रतिशत बालबालिका जन्मदोष लिएर जन्मने गरेका छन् भने प्रतिहजार जीवित शिशुमध्ये २१ जना एक महिने शिशुको मृत्यु हुने गरेको छ । जसको चौथो मुख्य कारण जन्मदोष रहेको छ ।







