झापाको बुद्धशान्तिमा यही बैशाख १५ गतेदेखि हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
बुद्ध आदर्श माविको सभाहलमा आज पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गरिएको हो ।
खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्ने छ भने दोस्रो खेल बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै तेस्रो खेल मानेभन्ज्याङ एफसी र धरान एफसीबीच हुनेछ भने चौथो दिनको खेल रेड हर्स एफसी इलाम र बेलबारी एफसीबीच हुने प्रतियोगिताका संयोजक तथा क्लबका पूर्वअध्यक्ष मनेष दाहालले जानकारी दिए ।
प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ । २०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक हुन लागेको हो ।
प्रतियोगिताको विजेताले नगद २ लाख, उपविजेताले १ लाख ट्रफी र मेडल पाउने छन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।
फाइनल खेलका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा २१ लाख ९६ हजार रुपैयाँ खर्च हुने संयोजक दाहालले जानकारी दिए ।
इन्दिरा फाउन्डेसनको प्रायोजन रहने प्रतियोगिताको प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघले गर्नेछ । प्रतियोगितालाई बुद्धशान्ति गाउँपालिकाले मुख्य सहयोग गरेको आयोजक समितिका दुर्योधन सिंह (देव) ले जानकारी दिए ।







