झापाको कचनकवल-६ बनियानीमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
शुक्रबार राति ९:५० बजेतिर बनियानीको पेट्रोल पम्पनजिक बनियानी केचना सडक-खण्डमा केचनाबाट बनियानीतर्फ आउँदै गरेको मे.८ प ८१७ नम्बरको मोटरसाइकल र बनियानीबाट केचनातर्फ जाँदै गरेको बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका थिए । दुर्घटनामा बिआर ३६ एक्स ३९४४ नम्बरको मोटरसाइकलका चालक कचनकवल-४ बस्ने ४१ वर्षीय कृष्णप्रसाद शाहको मृत्यु भएको हो ।
त्यसैगरी सोही मोटरसाइकलको पछाडि बसेका कचनकवल-४ बस्ने १४ वर्षीय सन्दीप माझी गम्भीर घाइते भएका छन् । उनलाई ओमसाई पाथिभरा हस्पिटलबाट बिएन्डसी हस्पिटल लगिएको छ ।
त्यस्तै मे.८ प ८१७ नम्बरको मोटरसाइकलमा सवार कचनकवल-६ बस्ने २१ वर्षीय गोपाल राजवंशी र वडा नम्बर ७ बस्ने अन्दाजी २५ वर्षीय रामबहादुर राजवंशी घाइते भएका छन् । उनीहरुको ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको र दुबै मोटरसाइकल इलाका प्रहरी कार्यालय बनियानीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







