एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा यूएईले नेपाललाई ६ विकेटले हराएको हो ।
साविक विजेता नेपाललाई हराउँदै यूएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेको हो । योसँगै एसिया कपमा भारत, पाकिस्तानसँग खेल्ने नेपालको सपना समाप्त भएको छ ।
नेपालले दिएको १ सय २० रनको सामान्य लक्ष्य यूएईले १७ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । यूएईका अलिशान शरफुले नट आउट ५५ रन बनाए । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिएका थिए ।
यसअघि ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन बनायो । नेपालका सन्दीप जोराले अर्धशतक बनाए । सन्दीप ४० बलमा ५० रन बनाएर आउट भएका थिए ।
यस्तै गुल्सन झाले २०, करण केसीले १७ रन बनाएका थिए । यूएईका जुनैद सिद्दिकी,अली नसीर र बसिल हमीदले समान दुई विकेट लिएका थिए ।







