यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी २० क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरको शीर्ष स्थानमा पुग्ने सपना चकनाचुर भएको छ ।
बैंगलोर महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्ससँग ८ विकेटले पराजित भएसँगै शीर्ष स्थानमा पुग्न असफल भएको हो । आइतबार भएको खेलमा विजयका लागि पाएको १४६ रनको चुनौती चेन्नईले १८ ओभर ४ बलमै २ विकेट गुमाएर पूरा गर्यो ।
यसअघि, खेलमा टस जितेर बैंगलोरले पहिले ब्याटिङ गर्दै विराट कोहलीको ५० तथा एबीडे भिलियर्सको ३९ रनको मद्दतले ६ विकेटको क्षतिको १४५ रन बनाएको थियो ।
११ खेलबाट १४ अंक जोडेको बैंगलोर यो खेल जितेर ‘प्लेअफ’मा स्थान सुरक्षित गर्ने पहिलो टिम बन्न चाहन्थ्यो । प्लेअफ होडबाट बाहिरिएको चेन्नई भने यो सानदार जितले ८ अंकसहित सातौं स्थानमा पुग्न सफल भएको छ ।

गएराती भएको दोश्रो खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ ।
राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८ ओभर २ बलमा २ विकेटको क्षतिमा भेट्टायो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९५ रन बनाएको थियो ।
हारसँगै शीर्ष स्थानको मुम्बईले अंक बढाउन सकेन । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंग्लोरको पनि समान १४ अंक नै भए पनि रनरेटका आधारमा मुम्बई शिर्ष स्थानमा छ ।
यस्तै मुम्बईलाई हराएको राजस्थान एक स्थान माथि उक्लिएको छ । १२ खेलमा ५ मा जित र ७ मा हार बेहोरेको राजस्थानको १० अंक भएको छ । राजस्थान तालिकाको पुछारबाट तेस्रो स्थानमा छ ।







