नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले विधि, पद्धति र नियमानुसार संगठन सञ्चालन गर्दै पार्टीका गतिविधिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा विर्तामोडमा सम्पन्न कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले जनताको विश्वासयोग्य संगठन बनाउन नीति, नियम र विधान बमोजिम पार्टी सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
संघीय सांसद पनि रहनुभएका नेता सिंहले संघीयता कार्यान्वयनका लागि थुप्रै नीति, नियम र कानून बन्न बाँकी रहेको बताउँदै अब संसद र सरकारले नीति निर्माण गरी तीनै तहका सरकार स्वस्फूर्त रुपमा चल्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेस सरकारमा जाँदै गर्दा जनचाहना बुझेर सोही अनुसार कार्ययोजना बनाई कार्यान्वयनमा जानुपर्ने बताउँदै नेता सिंहले परिवर्तनलाई संस्थागत गर्न समयानुकुल नीति आवश्यक रहेको धारणा राख्नुभयो ।
देशमा उत्पन्न आर्थिक मन्दी हटाउँदै ब्यवसायीले लिएको ऋणको ब्याज तिर्न नसक्ने अवस्थाको अन्त्यका लागि सरकार, बैंक तथा वित्तीय संस्थाहरुको संयुक्त पहलबाट नीति निर्माण गरेर आगामी बजेटमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञाशाको जवाफ दिदै नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं प्रदेश संसदीय दलका नेता उद्वव थापाले संविधान अनुसार नै प्रदेश–१ को नामाकरण गरिएको र यसमा ८२ जना सांसदले पक्षमा मतदान गरेको जानकारी दिनुभयो ।
पहिचानवादीहरुलाई आन्दोलन शान्तिपूर्ण र जनताको मन जित्ने प्रकृतिको बनाउन सुझाव दिदै नेता थापाले पहिचानबादीको माग सम्बोधन गर्न संविधान बमोजिम नै कांग्रेस लचिलो हुने बताउनुभयो । विगतका आन्दोलनहरु पनि वार्तामार्फत नै समाधान गरिएको स्मरण गर्दै नेता थापाले उछृङ्खल र जनविरोधी आन्दोलनले निकास नदिने धारणा राख्नुभयो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, प्रदेश सांसद लख्खी गणेश, प्रदेश सदस्य मिरा खड्का, जिल्ला उपसभापति केशवराज पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ओमकृष्ण विमली, दुर्योधन गुरुङ, पाण्डवलाल चौधरी, लिलाबहादुर कटुवाल, रुद्रप्रसाद चिमरिया, राजेन्द्र गौतम लगायतले केन्द्रीय सदस्य सिंहसँग सरकार र संगठनका विषयमा विभिन्न जिज्ञाशा राख्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।







